रुकुम पूर्वमा हरेक महिनाको अन्तिम शनिबार हाटबजार सञ्चालन गरिने
रुकुम पूर्व । रुकुम पूर्वमा हरेक महिनाको अन्तिम शनिबार हाटबजार सञ्चालन गरिने भएको छ। जिल्लाको सदरमुकाम छिप्रिदहमा आज बसेको उद्योग वाणिज्य संघ रुकुम पूर्व तथा स्थानीय उद्योगी व्यवसायीहरूको संयुक्त बैठकले मासिक हाटबजार सञ्चालन गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष केबेन्द्र गौतमका अनुसार, छिप्रिदहस्थित नेपाल बैङ्क अगाडिको स्थानमा हरेक महिनाको अन्तिम शनिबार हाटबजार सञ्चालन हुने छ। उहाँले हाटबजारको उद्देश्य स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै, उपभोक्तालाई आवश्यक सामग्री एकै स्थानमा सुलभ मूल्यमा उपलब्ध गराउनु रहेको बताउनुभयो ।
अध्यक्ष गौतमले हाटबजारको प्रारम्भ सदरमुकामबाट गरी, क्रमशः भुमे र पुथा उत्तरगंगा गाउँपालिकामा समेत विस्तार गरिने जानकारी दिनुभयो। उहाँका अनुसार हाटबजारको दिन छिप्रिदहमा रहेका सबै पसल व्यवसाय बन्द रहनेछ।
बैठकले रुकुमकोट बजार व्यवस्थापन समिति पनि गठन गरेको छ। जसको अध्यक्षमा लक्ष्मण घर्ती, उपाध्यक्षमा लोकेन्द्र शाही र कली खड्का गौतम, महासचिवमा कृष्ण भक्त ओली, सचिवमा सुजन पुन र कोषाध्यक्षमा निशान विक सर्वसम्मत रूपमा चयन हुनुभएको छ। त्यस्तै, समितिका सदस्यहरूमा विनोद बुढा, अनिता सार्की बस्याल, सुशील गौतम, केशव सुनार र कल्पना भारती रहनुभएको छ।
नवगठित समितिले हाटबजार सञ्चालनसँगै बजार व्यवस्थापनमा विशेष ध्यान दिने जनाएको छ। रुकुम पूर्वमा मासिक हाटबजार सञ्चालन हुने यो पहिलोपटक हो ।।
प्रतिक्रिया राख्नुहोस्