मौरी र होमस्टेले बुढेसकालमा पनि गाउँ फर्कायो

पोखरा । नेपालका अधिकांश गाउँहरू खाली हुँदै बाझो खेतबारीमा परिणत भएको अवस्थामा कास्की रुपा गाउँपालिका स्थित वडा नम्बर ६ को भिरचोक क्षेत्रका केही व्यक्तिहरू आफ्नै गाउँमा स्वरोजगार बन्न सफल भएका छन् ।
गाउँमा घर घरमा मौरी पालन देखि पछिल्लो समय घर बास कार्यक्रम (होमस्टे) ले गर्दा बुढेसकालमा पनि शहर बजार झरेकाहरूलाई गाउँ फर्काएको छ ।
यसको एउटा गतिलो उदाहरण हुन् ६६ बर्षकी जानकी गुरुङ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ६ स्थित भिरचोक सामुदायिक होमस्टे करिब एक बर्ष अघि देखि सञ्चालन हुँदै आए पछि उनी र उनी जस्तै अन्य बुढेसकालमा पनि आफ्नै गाउँ फर्किएर मौरी पालन सहित होमस्टे गर्न थालेका हुन् । विगत ३८ बर्ष अघि आफ्ना श्रीमान् गुमाए पनि दुई छोरीको सहारामा गाउँमा जेन तेन कृषि पेशा गर्दै आएकी जानकी गुरुङ विगत २ बर्ष छोरीको साथमा पोखरा झरे पनि आफ्नो गाउँ ठाउँको माटो र गाउँमा मौरी पालन देखि होमस्टे सञ्चालन गर्ने भए पछि गाउँ फर्किनु भएको हो ।
हुन त उनले विगत २०७४ साल देखि एउटा मौरीको घारबाट मौरी पालनको सुरुवात गरेकी थिइन् । आफ्नो गाउँमा केही घर परिवारमा मौरी पालन गरेको देखेर १० हजारमा मौरी घार सहित खरिद गरेकी गुरुङको घरमा हाल मौरीको २० घार पुगेको छ । गाउँमा मौरी पालन राम्रो हुन थाले पछि रुपा गाउँपालिकाले पनि गाउँमा मौरी पालन व्यवसायलाई थप प्रबद्र्धन गर्न मौरी पालन गर्ने घर घरमा सहुलियतमा मौरीका घार उपलब्ध गराउन सुरु गर्यो । मौरी पालनबाट केही मुनाफा लिन सुरु गरेकी जानकी जस्ता व्यक्तिको लागि गाउँपालिकाले दिएको सहुलियतको मौरी घार आफ्नो व्यवसाय बिस्तार गर्ने अर्को राम्रो माध्यम हुन पुग्यो । उनले गत बर्ष मात्र थप दुई वटा मौरीका घार ३ हजार ५ सयका दरमा ७ हजारमा सहुलियत दरमा खरिद गरेकी हुन् ।
हिजोआज मौरीको रेखदेख देखि समय समयमा मह काट्ने र होमस्टेमा आगन्तुक पाहुनालाई स्वागत गर्ने दिन चर्या नै भएको छ जानकीको । हाल घरमा पारिवारिक रुपमा एकल भए पनि आफ्ना आफन्तको साथ र सहयोगले गर्दा ५ वटा होमस्टेका रुम समेत सञ्चालन गर्दै एकै रातमा १० जना पाहुनालाई खानपानको व्यवस्था मिलाउन उनी समक्ष भएकी छन् । वर्षमा ३ पटक चौमासिक रुपमा मह काट्दा एक सिजनमा ४० देखि ५० माना मह उत्पादन हुने गरेको छ । उनले प्रति माना अर्गानीक मह भएका कारण १ हजारमा बिक्री गर्दै आएकी छन् । आफूहरूले उत्पादन गरेको मह बजारको कुनै समस्या नभएको बताउँदै जानकीले आफ्नो घरमा उत्पादन भएको मह बढी भएमा आफ्ना आफन्तको घरमा भेट्न जाँदा उपहार स्वरूप मह लिएर जान थालेको उनले सुनाइन् ।

२८ वर्षको यौवन अवस्थामा श्रीमान् गुमाएकी जानकीको हाल घुँडा दुख्ने समस्या छ यद्यपि उनी बिहान ५ः०० बजे उठेर आफ्नो घरायसी काममा व्यस्त हुन्छिन् भने दिनभरी जसो मौरीको रेखदेख, खेतबारीमा फलफूल तरकारी एवं अन्नबालीको संरक्षण गर्नु देखि कहिले काहीँ आगन्तुक पाहुनालाई स्वागत गर्न पनि पछि पर्दैनन् । सामान्य पढाई लेखाई समेत गर्न नपाएकी जानकी केही समय पोखरा बस्दा आफ्नो घर गाउँको पाखो पखेरो आफ्नो जग्गामा कसैले घाँस काटेको स्मरणले सताउने गरेको सुनाइन् । हाल आफ्नो घरमा बस्दा सन्तुष्टि भएको बताउँदै उनले मौरी पालन देखि होमस्टेमा आउने पाहुनाले गर्दा आफूहरूलाई निकै हौसला एवं प्रोत्साहन भएको बताइन् । आफ्नै घरमा बसेर स्वरोजगार हुँदै मासिक करिब १५ हजार आम्दानी गर्न सक्षम बनेकी छन् । आफ्नो होम स्टेमा आगन्तुक पाहुनालाई स्थानीय रुपमा उत्पादन भएका अन्न वाली देखि फलफूल तरकारी उपलब्ध गराउने भएको उनले बताइन् ।
गत जेठ महिना देखि सञ्चालन भएको होमस्टेमा काठमाण्डौं, चितवन, पोखरा सहितका पाहुनाहरू आफ्नो गाउँमा आउन थाले पछि अब विदेशी पाहुनाहरूलाई समेत ल्याउन केही पूर्वाधार तथा फर्निसिङमा सुधार गर्नु पर्छ भने पछि उनी र उनी जस्ता होमस्टे सञ्चालकलाई राज्यको तर्फबाट प्रोत्साहन स्वरूप केही सहयोगको खाँचो छ । शौचालय करिब ७ फिट अग्लो, खाट कम्तीमा साँढे ६ फिटको लामो र ३.५ मिटरको चौडाइको बनाउन उनीहरुलाई सुझाव आएको छ ।
आफ्नो गाउँलाई मौरी पकेट क्षेत्र बनाउने उद्देश्यले मौरीमा सहुलियत दिन सुरु गरिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार गाउँमा हाल ३५ हजार लिटर मह उत्पादन हुन सुरु भएको छ । केही बर्ष अघि वार्षिक ८ हजार लिटर मात्र मह उत्पादन भएकोमा हाल पालिकाले मह उत्पादन गर्ने परिवारलाई सहुलियतमा मौरीको घार उपलब्ध गराएसँगै मह उत्पादन बढेको उनको दाबी छ । गाउँमा बस्ने वातावरण सृजना गर्न पालिकाले किसानहरूलाई बिउ विजन, मल देखि होमस्टे प्रबद्र्धन सहितका विभिन्न उत्पादन मूलक कार्यक्रममा सहयोग गर्दै आएको दाबी गरे । उनका अनुसार भिरकोट सामुदायिक होमस्टेमा हाल १० घरमा होमस्टे सञ्चालन भएको छ । उक्त गाँउमा करिब ३० घर रहेका छन् ।
७ वटा वडा रहेको यस पालिकामा ३ हजार ६ सय ६३ घर परिवार रहेको उपाध्यक्ष लाल सुब्बा गुरुङ बताउँछिन् । समुद्री सतह देखि १ हजार २ सय ६५ मिटर माथिको उचाइमा रहेको हतिमैता भ्यूटावर, झण्डा पार्क, हरियाली वनजंगल मौसम खुल्दा हिमश्रृखला अवलोकन देखि पोखरा, लेखनाथ लगायतको क्षेत्र अवलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्