तपाईँ सुन्दै हुनुहुन्छः

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु

नयाँदिल्ली। भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा कम्तीमा ८० जना घाइते भएका छन् ।

शुक्रबार साँझ जात्रामा भाग लिन ठुलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए । सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे । त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले एक विज्ञप्ति जारी गर्दै शिरगाओ गाउँको लैराई देवी मन्दिरमा शनिबार बिहान भएको भागदौडले आफूलाई निकै दुःखी बनाएको बताउनुभएको छ ।

“घाइतेमध्ये छ जनाको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भएको थियो,” सावन्तले पत्रकारसँग भन्नुभयो । उहाँले अस्पतालको अनुगमन गर्दै मृतक वा घाइतेका परिवारलाई सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

गोवाराज्यका स्वास्थ्यमन्त्री विश्वजित रानेका अनुसार घटनामा कम्तीमा ८० जना घाइते भएका छन् ।

उहाँले भन्नुभयो, “पाँच जनाको अवस्था गम्भीर र भेन्टिलेटरमा राखिएको छ भने बाँकीको विशेष आपतकालीन कक्षमा उपचार भइरहेको छ ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले आफ्ना प्रियजन गुमाएकाप्रति समवेदना प्रकट गरेको छ ।

लैराई जात्रा गोवामा एक प्रमुख हिन्दू उत्सव हो र यो आगोमा पैदल हिँड्ने समारोहका रूपमा चिनिन्छ । भारतीय धार्मिक चाडहरूमा भागदौड मच्चिँदा घातक दुर्घटनाहरू हुने गरेका छन् ।

यस वर्षको सुरुमा उत्तरी शहर प्रयागराजमा कुम्भ मेलामा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button