क्यान्सर अस्पतालमा जनशक्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या
बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले दुई महिनापछि नयाँ कार्यकारी निर्देशक पाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत ज्वलन्त पौडेललाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशक बनाएर पठाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद साहको दुई महिनाअघि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल प्रमुखविहीन बनेको थियो ।
क्यान्सर अस्पतालका लागि मन्त्रालयले ढिला गरि कार्यकारी निर्देशक पठाए पनि अस्पताल सञ्चालन भएको १० वर्ष पुग्दा न त दरबन्दी सृजना गरिएको छ, न त किताब खानामा अस्पतालका कर्मचारीको सूचीकृत नै गरिएको छ । संघीय सरकारले स्वामित्व ग्रहण गरेको ९ वर्ष पुरा हुँदासम्म पनि अस्पतालमा करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट सञ्चालन हुँदै आएको छ ।
रेडियोलोजिष्टको दरबन्दी नहुँदा ज्यालादारीमा खोजिएको प्राविधिकबाट सिटी स्क्यान, भिडियो एक्सरे र मेमोग्राफी सञ्चालन हुँदै आएका छन् । लुम्बिनी प्रदेशका पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट क्यान्सरको उपचारका लागि आउने बिरामीहरुले सिटी स्क्यान, भिडियो एक्सरे र मेमोग्राफीको पालो नपाउँदा निजी अस्पतालमा महँगो मूल्य तिरेर सेवा लिन बाध्य छन् ।
मन्त्रालयले पटक पटक ओ एन एम स्वीकृत गरिने जनाउँदै आए पनि ९ वर्षदेखि अस्पताल दरबन्दी बेगर सञ्चालन हुँदै आएको हो । नेपाल सरकारले २०७२ सालमा एक धार्मिक संस्थाबाट अस्पतालको स्वामित्व ग्रहण गर्दै पूर्णरुपमा संघीय सरकारबाट अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । नव नियुक्त निर्देशक पौडेलले आफूले अस्पतालको वस्तु स्थिति बुझ्दै गरेको उल्लेख गर्दै बुझेपछि मात्र अस्पतालका बारेमा केही बताउन सकिने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्