तपाईँ सुन्दै हुनुहुन्छः

राक्सिराङमा चट्याङ पूर्वसूचना प्रणाली जडान

मकवानपुर । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकामा चट्याङ सम्बन्धी पूर्वसूचना दिने अत्याधुनिक प्रणाली जडान गरिएको छ । चट्याङजन्य प्रकोपको उच्च जोखिम रहेको सो गाउँपालिकामा जनधनको क्षति न्यूनीकरणका लागि पूर्वसूचना दिने अत्याधुनिक प्रणाली जडान गरिएको हो ।

चट्याङ आउनुभन्दा करिब १६ मिनेट अगाडी नै सूचना दिनसक्ने उक्त प्रणालीले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियस भित्र साइरन मार्फत चेतावनी दिने बताइएको छ । साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा स्थापना गरिएको उक्त प्रणाली दक्षिण एसियामै पहिलोपटक स्थायी रूपमा प्रयोगमा ल्याइएको अनुसन्धानकर्ता तथा नेटवर्कका अध्यक्ष श्रीराम शर्माले जानकारी दिनुभयो । यसअघि नगरकोटमा सफल परीक्षण गरिएको उक्त प्रणाली राक्सिराङमा पहिलोपटक स्थायी रूपमा जडान गरिएको उहाँले बताउनुभयो । 

मङ्गलवार एक कार्यक्रमकाबीच राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, वडा अध्यक्षहरू तथा प्राविधिक समूहको उपस्थितिमा उक्त प्रविधि हस्तान्तरण गरिएको थियो । भने, मङ्गलवार नै  राक्सिराङ–५ को चैनपुरस्थित विद्यालय र पालिका भवनमा साइरन स्थापना गरिएको छ । अन्य वडामा पनि २ दिन भित्रमा साइरन जडान गरिसक्ने जनाइएको छ । 

पिपुल इन निडको आर्थिक सहयोगमा वितरण गरिएको प्रणाली अन्तर्गत एउटा मुख्य सेन्सर र आठवटा साइरन जडान गरिने छ । साइरनहरू क्रमशः गाउँपालिकाका प्रमुख स्थानहरू वडा नम्बर १ को राम्चे, वडा २ र ३ को भट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुर, वडा ६ को सिलिङ्गे विद्यालय, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को कन्द्राङ प्रहरी चौकीमा जडान गरिने अध्यक्ष मल्लले बताउनुभयो ।

प्रविधि हस्तान्तरण कार्यक्रममा अध्यक्ष मल्लले राक्सिराङलाई उच्च विपद् जोखिमयुक्त क्षेत्र मानेर यस्तो प्रविधिको आवश्यकता रहेको औँल्याउँदै पूर्वसूचना पाएपछि सुरक्षित ठाउँमा पुग्ने तयारी गर्न सजिलो हुने र चट्याङका कारण हुने मानवीय क्षति कम हुने विश्वास व्यक्त गर्नुभयो । मकवानपुरको राक्सिराङ, कैलाश, मनहरी, बकैया र मकवानपुरगढी लगायतका क्षेत्र चट्याङको उच्च जोखिममा रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button