तपाईँ सुन्दै हुनुहुन्छः

महोत्सवमा देशभरबाट कविता पठाउन आह्वान

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसरमा हुने राष्ट्रिय कविता महोत्सव–२०८२ का लागि कविता पठाउन आह्वान गरिएको छ । 

प्रतिष्ठानले उक्त महोत्सवका देशभरबाट आगामी जेठ २० गतेसम्म कविता पठाउन समय तोकेको हो । प्रतिष्ठानमा उपस्थित भई वा सूचनामा भएको इमेलमार्फत कविता पठाउन सकिने व्यवस्था गरिएको प्रतिष्ठानका वरिष्ठ अधिकृत सुधिर ढुङ्गेलले जानकारी दिनुभयो । 

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आगामी असार ९ गते हुने महोत्सव समावेशी सहभागितामूलक र बहुभाषिक हुने महोत्सवमा तोकिएको समयसिमापछि प्राप्त हुने कविता प्रतियोगितामा समावेश नगराइने जनाइएको छ ।

मुलुकमा प्रचलित सबै भाषा र मातृभाषाका कवितालाई महोत्सवमा समावेश गरिने भए पनि मातृभाषामा पठाएका कविताको नेपाली अनुवाद भने अनिवार्य हुनुपर्नेछ ।

महोत्सवमा सहभागी हुने कविले कविता पठाउँदा सम्बन्धित प्रदेशसहितको ठेगाना खुलाएर एकप्रति पासपोर्ट साइजको फोटो र सम्पर्क नम्बर प्रतिष्ठानलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ । 

महोत्सवमा  प्राप्त भएका कवितामध्येबाट उत्कृष्ट १० कवितालाई जनही रू ४० हजारसहित कदर पत्रले पुरस्कृत गरिने छ । प्रतियोगीले आफ्नो कविता कुनै पनि छापा तथा विद्युतीय माध्यमबाट महोत्सव सम्पन्न नभएसम्म प्रकाशन गर्न नपाइने नियम बनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button