तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा २२ करोड लागतमा आधुनिक फुटबल रंगशाला निर्माण हुने 

बाँके । बाँकेको कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिगाहा मैदानमा अत्याधुनिक सुविधा सम्पन्न फुटबल रंगशाला निर्माण हुने भएको छ ।

कोहलपुर नगरपालिकाले तेह्र बिगाहा मैदानमा पश्चिम नेपालकै स्तरीय रंगशाला निर्माण गर्न लागेको हो । 

कोहलपुर नगरपालिकाले ब्रिक कन्सल्टेन्ट प्रालिसँगको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ। डीपीआर अनुसार रंगशाला निर्माणमा कुल लागत २२ करोड ७५ लाख ५४ हजार २ सय ७२ रुपैयाँ २३ पैसा लाग्नेछ। उक्त रकममा चारैतर्फ सुविधा सम्पन्न प्याराफिट, वाउन्डिङ वाल, होस्टेल ब्लक, शौचालय, पार्किङ स्थल लगायतका संरचना निर्माण गरिनेछन्।

रंगशाला निर्माणको पहिलो चरणको रुपमा नगरपालिकाले पश्चिमतर्फको प्याराफिट निर्माणका लागि ७ करोड ३६ लाख लागतको बोलपत्र आह्वान गरिसकेको छ। यससँगै रंगशाला निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको कोहलपुर नगरपालिकाले जनाएको छ।

कोहलपुर–२ का वडाध्यक्ष हरि कठायतका अनुसार मैदानलाई स्तरीय रङ्गशालामा रूपान्तरण गर्न तीन तहका सरकारसँग समन्वय गरिँदै छ। संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरीसँग समेत भेटघाट गरी आगामी आर्थिक वर्षको बजेटमा रङ्गशालाका लागि विनियोजन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो।

“कोहलपुर तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट हो। हामीले खेलाडी उत्पादनका लागि लगानी बढाएका छौँ”, कठायतले भन्नुभयो, “मुख्यमन्त्री कोहलपुर गोल्ड कपजस्ता प्रतियोगिताले रंगशालाको आवश्यकतालाई थप स्पष्ट बनाएको छ।”

कोहलपुर नगरपालिकाका इन्जिनियर प्रवीण बस्नेतले डीपीआर तयार भइसकेको र प्रारम्भिक संरचना निर्माण कार्य सुरु भइसकेको जानकारी दिनुभयो। ‘चार वटा प्याराफिट निर्माण गर्ने योजना छ। न्यूनतम संरचना निर्माणमा ढिलो नगर्ने गरी प्रक्रिया अघि बढाइएको छ”, इन्जिनियर बस्नेतले बताउनुभयो।

तेह्र बिगाहा मैदानमा हरेक वर्ष सञ्चालन हुँदै आएको मुख्यमन्त्री कोहलपुर गोल्डकपले कोहलपुरलाई खेलकुदको सशक्त गन्तव्यको रूपमा स्थापित गर्दै आएको छ। कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा सञ्चालन हुँदै आएको प्रतियोगितालाई नगरपालिकाले समेत स्वामित्व लिँदै आएको छ।

यो आयोजनालाई कोहलपुरको मात्र होइन, सिङ्गो पश्चिम क्षेत्रको गौरवको रुपमा विकास गर्ने उद्देश्यसहित रंगशाला निर्माणको कार्य अघि बढाइएको नगरपालिकाले स्पष्ट पारेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button