तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा क्यान्सरको किमोथेरापी सेवा सुरु 

वीरगञ्ज । वीरगन्जको नारायणी अस्पतालमा क्यान्सरको किमोथेरापी सेवा आजबाट सुरु भएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा आजबाट सुरु गरिएको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले बताउनुभयो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवालाई विस्तार गर्ने योजना अगाडी बढाएसँगै मधेस प्रदेशको वीरगन्जमा आजबाट क्यान्सरको किमोथेरापी सेवा शुरु भएको हो । 

सात प्रदेशमध्ये मधेस र कोशी प्रदेशमा क्यान्सर उपचार सेवा प्रदान गर्नका लागि प्राविधिक सहयोग गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई दिएको थियो । यसअघि नारायणी अस्पतालले क्यान्सर स्क्रिनिंग तथा ओपिडी सेवा मात्रै प्रदान गर्दै आएको मा आजबाट किमोथेरापी सेवा शुरु भएको भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. उज्ज्वल चालिसे बताउनुभयो । 

नारायणी अस्पतालमा क्यान्सरको ओपिडी परीक्षण सहित किमोथेरापी सेवा समेत शुरु भएपछि मधेसका बिरामी अब क्यान्सर उपचारका लागि काठमाडौँ लगायत अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको डाक्टर चालिसेले बताउनुभयो । 

सेवा शुभारम्भको अवसरमा आज नारायणी अस्पतालमा स्तन क्यान्सरको उपचार गराइरहेकी एक महिलालाई किमोथेरापी दिएर उक्त सेवाको प्रारम्भ गरिएको डाक्टर चालिसेले जानकारी दिनुभयो । 

नारायणी अस्पतालमा आगामी दिनमा प्यालिएटिभ केयर समेत सुरु गरिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button