वीरगन्जमा आतसबाजी गर्न प्रतिबन्ध, डिजेमा कडाइ
वीरगञ्ज । वीरगन्जमा विवाह उत्सव, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा आतसबाजी र पटका पड्काउने जस्ता गतिविधि बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न आजैबाट प्रतिबन्ध लगाइएको छ भने डिजे बजाउन समेत कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा आज सम्पन्न सुरक्षा निकाय तथा सरोकारवालाहरूको बैठकले विवाह, टिकोटालो लगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रममा आतसबाजी र पटका पड्काउन बन्देज लगाउने निर्णय गरेको हो ।
बैठकमा ध्वनि प्रदूषणलाई मध्यनजर गर्दै त्यस्ता उत्सव वा सभा–समारोहमा डिजेलाई पनि अब क्रमशः निरुत्साहित गर्दै जाने सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
हालका लागि डिजे राति १० बजे पछि पूर्ण रूपमा निषेध गर्ने सहमति भएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले अब छिट्टै अन्य सरोकारवालाहरुसंग पनि बैठक राखेर पर्सा जिल्लामा डिजेलाई पनि पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्