मौसम तथा विपद्सँग सम्बन्धित तीन दिने कार्यशाला सम्पन्न

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपाल टेलिभिजन र बिबिसी मिडिया एक्सन नेपालको सहकार्यमा सञ्चालन भएको कार्यशाला मौसम तथा विपद्सँग सम्बन्धित शब्दावलीहरूको सरलीकरण गर्दै आज सकिएको छ ।
रेडियो नेपाल केन्द्रिय प्रसारण कार्यालय सिंहदरबारमा सञ्चालन भएको तीन दिनको कार्यशालाले मौसम तथा विपद्को कार्यक्रम तथा समाचार प्रसारणमा प्रयोग हुने कठिन तथा प्राविधिक शब्दहरूको सरल शब्दावली निर्माण गर्ने कार्य गरेको हो ।

कार्यशालाको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै आज सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले विपद् सम्बन्धी प्रसारणलाई विशेष प्राथमिकता दिने सार्वजनिक सेवा प्रसारणको उद्देश्यअनुसार तालिममा लिएका ज्ञानलाई प्रभावकारी रूपले व्यवहारमा उर्तान सहभागीहरूलाई आग्रह गर्नुभयो ।
अध्यक्ष डा.विष्टले कठिन भाषा, शब्दावलीहरूलाई सही अर्थमा सरल बनाई आम दर्शक तथा श्रोताकै भाषामा बुझ्ने गरी सञ्चार गर्ने कार्यमा जिम्मेवारीपूर्वक लाग्न पनि सहभागी सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

यस्तै सार्वजनिक सेवा प्रसारण नेपालका का.मु.प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले तालिममा हासिल गरेको ज्ञानलाई प्रयोग गरी आम जनतालाई लाभान्वित गराउन सुझाव दिनुभयो ।

यस्तै, बिबिसी मिडिया एक्सनका प्रतिनिधि किरण भण्डारीले नागरिकलाई सरल भाषमा विपद् मौसम सम्बन्धी सूचित गराउने कार्यको सुरुवात भएको र यसको कार्य प्रभावकारितालाई बढी ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

समापन समारोहमा सहभागीहरूका तर्फबाट बद्री गौतम र निर्मला ठकुराठीले कार्यशाला उपयोगी भएको धारणा राख्नुभयो ।
तालिममा ३७ जनाभन्दा बढी प्रसारक तथा प्राविधिकहरूको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्