शालग्राम संरक्षण गर्न बागलुङको कुँडुले फेदीमा महोत्सव सुरु
बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित शालग्राम संग्रालयमा श्री रंगवैकटेश् मुक्तिनारायण मन्दिरको ब्रम्होत्सवको अवसर पारेर शालग्राम महोत्सव शुरु भएको छ ।

मन्दिरको ३८ औ व्रम्होत्सवको अवसर पारेर यही बैशाख १७ गतेदेखी २१ गतेसम्म सञ्चालन हुने गरी महोत्सव शुरु गरिएको मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहलयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले धर्म संस्कृतिको रक्षा र शालग्राम शिलाको संरक्षणका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।
दिनहुँको कालिगण्डकी दोहनले शालग्राम शिला लोप हुने खतरा बढेको चर्चा गर्दै शालग्राम संरक्षण गरी जिल्लालाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनाउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
महोत्सव अन्तर्गत दैनिक पाठ पारायण, रामायण प्रवचन, रामायण वाचन, शालग्रामको महत्वबारे चर्चा परिचर्चा, यज्ञ हवन, विद्धान गुरुजनहरूबाट प्रवचन लगायतका कार्यक्रम रहेको स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । उहाँका अनुसार शालग्राम शिला र शालग्राम पाईने एकमात्र नदी कालिगण्डकीको महत्त्वबारे पनि चर्चा हुने छ । महोत्सव अवधिभर भारतको अयोध्यादेखि आउनुभएका श्री १ हजार ८ स्वामी बालकृष्णाचार्य लगायतले रामायण प्रवचन गर्नुहुने छ ।
प्रतिक्रिया राख्नुहोस्