अभियान अन्तर्गत एक करोड नागरिकसँग संवाद भयो : अध्यक्ष प्रचण्ड
कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई(मधेस जागरण अभियान अन्तर्गत एक करोड नागरिकसँग संवाद भएको बताउनुभएको छ ।

अभियान समापनका क्रममा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त अभियानबाट पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्न पाइएको उल्लेख गर्नुभयो । उक्त अभियान मार्फत देशको स्वाधीनता र अखण्डता कायम राख्न र सीमाको रक्षाका लागि महत्त्वपूर्ण उपलब्धी हासिल भएको उहाँको भनाइ छ ।

हुलाकी राजमार्ग केन्द्रित अभियानबाट हुलाकी सडकखण्डको अवस्था, सीमावर्ती क्षेत्रमा नेपाल(भारत सीमा सम्बन्धी समस्या, सीमान्तीकृत, सहिद तथा बेपत्ता नागरिकका परिवारजन, गरिब, विपन्न तथा किसानहरूका पीडा, उद्योगी व्यवसायी लगायत सबै समुदायका कुरा सुन्ने अवसर मिलेको अध्यक्ष प्रचण्डले बताउनुभयो । अभियानका क्रममा प्राप्त सन्देशलाई मनन गर्दै त्यसमा पार्टी केन्द्रित हुने उहाँको भनाइ छ ।
नेकपा माओवादी केन्द्रले गत फागुन १२ गतेका दिन झापाको कचनकवलबाट उक्त अभियानको सुरुवात गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्