गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबिच भेटवार्ता
काठमाण्डौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बुधबार भेटवार्ता गर्नुभएको छ ।

नेपाल भ्रमणका लागि काठमाण्डौं आइपुग्नुभएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मीरमा भएको आतङ्कवादी आक्रमण घटनाको निन्दा गर्नुभयो । मन्त्री लेखकले उक्त घटना दुखद भएको बताउँदै आतङ्कवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकी मित्र भारतसित रहेको बताउनुभयो ।
मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौँ देखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताउनुभयो ।
सो भेटका अवसरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो । “ नेपाल–भारतबिचको सम्बन्ध दृढ छ ।” उहाँले भन्नुभयो–“ कुनै पनि विषयले मित्रवत् सम्बन्धमा असर पर्दैन ।”
उहाँले कश्मीर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखक मार्फत समवेदना समेत व्यक्त गर्नुभयो । विदेश विभाग प्रमुख चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्