तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा बजेटको तयारी

गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि तयारी थालेको छ । 

बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरूसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिनुभयो । नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको उहाँको भनाइ छ । 

“निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञसँग पनि बजेट निर्माणबारे छलफल भइरहेको छ”, महाशाखा प्रमुख रिज्यालले भन्नुभयो, “आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयसँग छलफल गर्दैछौँ ।” बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरूको अपेक्षा र रायसुझाव लिइएको उहाँले बताउनुभयो । 

छलफलका क्रममा स्थानीय तहहरुले बजेट समावेशी र प्रभावकारी बनाउन सुझाव दिएको उहाँको भनाइ छ । “बजेट निर्माणको प्रक्रियालाई सहभागितामूलक बनाउन पूर्वतयारी छलफलले मन्त्रालयलाई महत्वपूर्ण सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घट्ने देखिएको उहाँको भनाइ छ । समानीकरण अनुदानमा भएको कटौती र राजश्व खुम्चँदा बजेट घट्ने भएको हो । चालु आवमा प्रदेश सरकारले रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ‘सिलिङ’ तोकिएको महाशाखा प्रमुख रिज्यालले जानकारी दिनुभयो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button