तपाईँ सुन्दै हुनुहुन्छः

लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल बिहीबारदेखि 

पोखरा । पोखरामा यही वैशाख १८ गते (बिहीबार) देखि सुरु हुने प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिपमा दुई विदेशी सहित ६ टिमको सहभागिता हुने भएको छ । 

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा यही वैशाख २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारत, इरान गरी दुई विदेशी टिमसहित ६ टिमको सहभागिता हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालका ३ विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब र घरेलु टिम गण्डकी प्रदेश भलिबल सङ्घले प्रतियोगितामा सहभागिता जनाउने भएको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताउनुभयो । पोखरामा पहिलो पटक इन्डोरमा भलिबल हुन लागेको हो । 

बैशाख २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । उपविजेता टोलीलाई २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा तेस्रो हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४ सय ४४ र विधागत तर्फका उत्कृष्ट खेलाडीले जनही ८ हजार ४ सय ४४ पाउनेछन् । 

खेल अवलोकनको दर्शकको प्रवेश शुल्क लिगका खेलमा प्रति व्यक्ति ३ सय, सेमिफाइनलको खेल ४ सय र फाइनल खेलमा भने ५ सय रुपैयाँ रहेको क्लबले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button