सुरक्षाकर्मी तथा सरोकारवालालाई मानव बेचबिखन नियन्त्रणसम्बन्धी तालिम
बाँके । बर्दिया जिल्लाको मधुबनमा सीमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाका लागि मानव बेचबिखन तथा ओसारपसार रोक्न दुई दिने तालिम सम्पन्न भएको छ ।

मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राविधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत सञ्चालित सो तालिममा पालिकाका उपमेयर, वडा अध्यक्ष, वरिष्ठ प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, सशस्त्र प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षक लगायत २३ जनाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले मानव बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण गर्न स्थानीय सरकार, संघ संस्था, प्रहरी र स्थानीयहरूले सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रम र सीमा क्षेत्रमा प्रहरी निगरानी बढाउनु पर्ने सुझाव पनि सो अवसरमा दिनुभयो ।
दुई दिने सो तालिममा मानव बेचबिखन तथा ओसारपसारको अवधारणा, यसका कारण, मानव तस्करी, शोषण, कानुनी प्रावधान, मानव दलालले अपनाउने तरिका, मानव तथा बाल बेचबिखन रोकथामका उपाय, स्थानीय तहका प्रयास तथा भूमिकाबारे माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक अधिवक्ता केशव कोइराला र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्