श्रम तथा रोजगार कार्यालय जनकपुरधामबाट ३० हजारले पाए श्रम स्वीकृति
जनकपुरधाम । श्रम तथा रोजगार कार्यालय जनकपुरधाम मधेश प्रदेशले पाँच जिल्लाका वैदेशिक रोजगारीमा जाने ३० हजार ६२ जनालाई श्रम स्वीकृति दिएको कार्यालयले जनाएको छ । श्रम स्वीकृति पाउनेहरूमा संस्थागत, व्यक्तिगत नयाँ र व्यक्तिगत पुनः दर्ता रहेका छन् ।

कार्यालयले आज धनुषाको लक्ष्मीनियामा आयोजना गरेको सञ्चार अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख दिवाकर भुजेलले चालु आर्थिक वर्षमा कार्यालयमा परेको श्रम सम्बन्धि ४६ उजुरीमध्ये अधिकांश फर्छ्यौट गरिएको बताउनुभयो ।
यसका साथै प्रदेशमा रहेको १ सय १२ उद्योग प्रतिष्ठानको निरीक्षण गरेर श्रम सम्बन्धि समस्याको समाधान गरेको जनाइएको छ ।
मधेश प्रदेशको श्रम तथा रोजगार कार्यालय जनकपुरधामको कार्यक्षेत्र धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी जिल्ला तोकिएको छ ।
कार्यक्रम नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्