अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप : नवोबुद्धलाई हराउँदै भगवती सेमिफाइनल प्रवेश
भोजपुर । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा भगवती स्पोर्टस क्लब खोटाङले नवोबुद्ध फुटबल क्लब सप्तरीलाई २–१ गोलले पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको छ ।

भगवती स्पोर्टस क्लब खोटाङका लागि जर्सी नम्बर ९ का आकाश राई र जर्सी नम्बर ९९ का मोहमद सनीले एक एक गोल गर्दे टिमलाई सेमिफाइनल चरणमा प्रवेश गराएका हुन । नवोबुद्ध फुटबल क्लब सप्तरीका लागि भने जर्सी नम्बर १० का युसुफ मल्लिकले एक मात्र गोल गरे । खेलको म्यान अफ द म्याच नवोबुद्धका गोलकर्ता सनी बने ।
बुधवारको अन्तिम खेल गत वर्षको विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटि मोरङका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । योसँगै सेमिफाइनलको खेल सुरु हुने छ ।
करिब ४९ लाखको लागतमा भोजपुर नगरपालिका–७ मा रहेको रङ्गशालामा बैशाख १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएका छन् ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्