ठोरीमा ठुला लगानीका होटल सञ्चालनमा आउँदै

वीरगंज । पर्यटन प्रवद्र्धनका प्रचुर सम्भावना भएर पनि विकासमा पछि परेको पर्साको ठोरी क्षेत्रमा हुलाकी सडक विस्तार सँगै अहिले धमाधम ठूला लगानीका होटलहरु खुल्न थालेका छन् । ठोरीमा एक बर्ष अगाडि ८ करोड रुपैयाँ लगानीमा ‘ठोरी जङ्गल रिर्सोट’ सञ्चालनमा आएको छ भने हाल ठोरीकै सुवर्णपुर मकरडाँडामा स्विमिङ पुलसहितको भव्य होटल सञ्चालनमा आउने तयारीमा छ ।
युवा व्यवसायी विक्रम बोम्जनको लगानीमा निर्माणाधीन ओमबी सुवर्णपुर स्विमिङ पुल एन्ड होटल यही बैशाख १९ गते शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने बताइएको छ ।
होटलमा स्विमिङ पुल, बार, रमणीय दृश्यसहितको रेस्टुरेन्ट, विशेष अवसरमा गीत–सङ्गीतलगायतका मनोरञ्जनात्मक सुविधाहरू रहेका छन् । ग्रामीण बस्तीमा किफायती मूल्यमा विलासी अनुभव प्रदान गर्ने लक्ष्यका साथ सो होटल सञ्चालनमा ल्याइने बोम्जनले बताउनुभयो ।
पर्साको ठोरी, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संगम स्थल हो । नेपालको भूगोलका हिसाबले ठोरी तराईमा पर्छ । तर, पहाडको यात्रा एक पटक पनि नगरेका भारतीय र नेपालीका लागि ठोरीमै पहाडको झल्को पाइन्छ । अर्थात् यो एक ‘मिनी उपत्यका’ पनि हो । पछिल्लो समय मधेश प्रदेश सरकारले ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्रको रुपमा घोषणा समेत गरेको थियो ।

ठोरीमा हालै खुलेका होटल नजिकैका क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यहरू अवस्थित छन् । पर्सा राष्ट्रिय निकुञ्जमा जिप र हात्ती सफारी प्रमुख आकर्षण हुन् । आरामदायी बसाइ, वन्यजन्तु अवलोकन र मनोरञ्जनात्मक गतिविधिका लागि यो होटल उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
प्राकृतिक सौन्दर्य, वन्यजन्तु अवलोकन र आधुनिक सुविधायुक्त होटलको सञ्चालनले ठोरी क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा थप आकर्षक बन्ने विश्वास गरिएको छ ।
ठोरीमा बिशेषगरी वीरगंज तथा बारा, पर्सा, रौतहट र चितवनबाट बढी आन्तरिक पर्यटकहरू पुग्ने गर्दछन् भने भारतको बिहार र उत्तर प्रदेशबाट समेत ठुलो सङ्ख्यामा भारतीय पर्यटकहरू ठोरी आउने गरेका ठोरी जङ्गल रिसोर्टका सञ्चालक सुदिप थापाले बताउनुभयो ।
विगतमा ठोरीमा पर्यटक आइरहने भएपनि रात बिताउने सुविधा सम्पन्न होटल नहुँदा यहाँ रोकिने पर्यटक ज्यादै कम रहेका थिए तर अब पर्यटकलाई आकर्षण गर्न सुविधा सम्पन्न होटल खुल्ने क्रम शुरु भएको छ ।
अहिले ठोरी आउने पर्यटकलाई जीप सफारी गराउन थालिएको छ । ठोरी ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक महत्व बोकेको ठाउँ पनि हो । ठोरीमा रहेको ‘रेड हील’, ‘ह्वाइट हील’ र सिनेही पर्वत विशेषतः पर्यटक आकर्षित गर्ने मुख्य स्थल हो । तीन वटै डाँडा चढेर नेपालको उत्तरमा रहेका विभिन्न हिमालको दृश्यावलोकन गर्न, चितवन राष्ट्रिय निकुञ्जको चारकोसे झाडी हेर्न, दक्षिण तर्फ रहेको छिमेकी मुलुक भारतीय समथर फाँटको दृश्यावलोकन गर्न सकिने थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्