संसद्को बहस शिक्षक आन्दोलनमा केन्द्रित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनरत शिक्षकका मागप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूको जायज माग तत्काल सम्बोधन गर्न माग गर्नुभयो ।
उहाँले सरकारलाई शिक्षकहरूसँग यसअघि पटक पटक भएका सम्झौताहरू कार्यान्वयन गर्न र शिक्षकहरूलाई पनि संयमित बन्न आग्रह गर्नुभयो ।
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरैले शिक्षकका सबै माग एकै पटक पुरा गर्न सम्भव हुने खालको नरहेको भन्दै पुरा गर्न सकिने जायज माग पुरा गर्न सरकारका लागिरहेको बताउनुभयो ।
उहाँले ८० को दशकलाई नेपालको विकास र समृद्धिको दशक बनाउने, विकास, सामाजिक न्याय, सुशासन र समृद्धिका आंकाक्षा पुरा गर्ने दिशामा रहेकाले संसद् पनि त्यसप्रति गम्भीर बन्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले सरकारले शिक्षकहरूसँग यसअघि भएका सम्झौता कार्यान्वयन नगरेका कारण अहिलेको अवस्था सिर्जना भएको आरोप लगाउनुभयो ।
उहाँले सरकारलाई शिक्षकको माग र आन्दोलनप्रति गम्भीर बन्न र जायज माग पुरा गर्न आग्रह समेत गर्नुभयो ।
बैठकमा सांसदहरु विनिता कठायत, पशुपति शमशेर जवरा, मेटमणी चौधरी, विरेन्द्र प्रसाद महतो, रामप्रकाश चौधरी, प्रेम सुवाल, प्रभु शाह, डा.अमरेशकुमार सिंह, देवप्रसाद तिमलसेना, दामोदरप्रसाद बैरागी नागीना यादव लगायतका सांसदले शिक्षक आन्दोलन, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना लगायतका समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्