गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार
हुम्ला । सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको आज बिहान सदरमुकाम सिमकोबाट जिल्लाबाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताउनुभयो । आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको प्रमुख भारतीले बताउनुभयो ।
प्रसव व्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चा ठाडो हुनुपर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले जिल्लामा उपकरण, औजारलगायत दक्ष जनशक्ति अभावले जिल्लाबाहिर सुर्खेत उद्धार गरिएको हो । भण्डारीलाई ‘अप्रेसन’ गर्नुपर्ने अवस्था आएको हुनाले सुविधा सम्पन्न अस्पताल सुर्खेत पठाइएको हो ।
भण्डारीको उद्धारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार गरिएको हो । हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पुर्याएलगतै उहाँको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा हुम्लाका सुत्केरी व्यथा लागेकी गर्भवतीका लागि यो कार्यक्रम वरदान साबित हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्