तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटना रोक्न सवारीका सायरी मेटाउँदै ट्राफिक प्रहरी

ओखलढुङ्गा । ओखलढुङ्गामा सवारी दुर्घटना न्यूनीकरणका लागि साधनमा लेखिएका सायरी, टाँसिएका पोष्टर र झुन्डाइएका झल्लर हटाउन थालिएको छ ।

चालकको ध्यान अन्यत्र केन्द्रित गर्ने सायरी र पोस्टरले दुर्घटनाको जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित सवारी साधनका सायरी, पोष्टर र झल्लर हटाउन थालेको हो ।

अभियानकै रुपमा सुरु गरेर जिल्ला भित्र चल्ने ठुला–साना सवारीमा जडान गरिएको फोकस लाइट, झल्लर र स्टिकर हटाउन र सायरी मेटाउन थालिएको जिल्ला ट्राफिक कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव निरीक्षक आशिष काफ्लेले बताउनुभयो । कम्पनीबाट आउनेलाई हटाएर चालकले नियमविपरित जडान गरेका ध्वनि प्रदूषण गर्ने प्रेसर हर्न र फोकस लाइट समेत हटाएर दुर्घटना न्यूनीकरणको विधि अपनाइएको उहाँको भनाई छ ।

‘पहाडी क्षेत्रका घुम्ती सडकहरू उसै त जोखिम छन् त्यसमाथि अहिले सवारीमा सायरी लेख्ने र पोष्टर टाँस्ने चलन बढ्यो । चालकले चारैतिर हेर्नुपर्ने भएपनि अनेक थरी झुन्डाएर हेर्दा पनि कुरूप र असुरक्षित बन्दा दुर्घटनाको जोखिम बढ्यो ।’ काफ्लेले रेडियो नेपालसँग भने, ‘त्यस्ता सवारीलाई ठाउँका ठाउँ समातेर कम्पनीले जस्तो पठाउने हो त्यस्तै सवारी सडकमा गुडाउने गरी त्यस्ता सामाग्रीहरू हटाइरहेका छौँ । यसले केही हदसम्म भएपनि दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने छ ।’ सवारीको चाप बढेसँगै दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी जाँच र सचेतना बढाइएको ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

अहिले जिल्ला सदरमुकाम बजार क्षेत्र, मानेभञ्ज्याङ, टोक्सेल हर्कपुर लगायतका क्षेत्रमा ट्राफिक प्रहरीले नियमित सवारी जाँच गर्ने गरेको छ । केही महिना अघि देखि ओखलढुङ्गामा प्रहरीले मापसेसमेत जाँच गर्न थालेको छ ।

ठाउँ ठाउँमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सङ्केत राख्ने, विद्यालयमा विद्यार्थी मार्फत र समुदायस्तरमा समेत ट्राफिक नियमका बारेमा सचेतनाका अभियानहरू सञ्चालन गरेपछि सामान्य असावधानीका कारण हुने दुर्घटनाको सङ्ख्या घटेको ट्राफिक प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button