जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल प्रतिपक्षी दलको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधि सभामा दर्ता भएको अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रलगायतका प्रतिपक्षी दलका सांसदहरुले उठेर सभामुख देवराज घिमिरेसँग समय माग गरी प्रमुख सचेतक पाण्डेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा छलफल गर्न माग गर्नुभयो ।
प्रमुख सचेतक पाण्डेले आफूहरूले शिक्षक र चिकित्सक आन्दोलनबारे संसद् सचिवालयमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न माग गर्नुभयो ।
प्रमुख सचेतक हितराज पाण्डेले आन्दोलनरत शिक्षकसँगै पेसागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधनका विषयमा सरकारको जवाफ माग गरेको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दलहरूले आन्दोलनरत शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा छलफल गर्न माग गर्दै सोमबार जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दर्ता गराउनुभएको छ ।
नेकपा एमालेका मुख्य सचेतक महेश वर्तौलाले शिक्षक र चिकित्सकहरूको समस्या समाधान गर्न सरकारका निरन्तर लागिरहेको बताउनुभयो ।
मुख्य सचेतक वर्तौलाले आन्दोलनका विषयमा लगातार संसदबाट विषय उठिरहेको र ध्यानाकर्षण गराइरहेको र सरकारले वार्तामार्फत समस्या समाधानका लागि काम गरिरहेको बताउनुभयो ।
बैठकमा प्रेमबहादुर आले, शोभा ज्ञवाली, ज्ञानबहादुर शाहीलगायतका सांसदहरुले समय माग गरी समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।
बैठकमा सांसदहरुले आन्दोलनरत शिक्षकहरूको जायज माग सम्बोधन गर्न र विद्यालय सञ्चालनको वातावरण बनाउन माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्