तपाईँ सुन्दै हुनुहुन्छः

सिम्रौनगढमा भीषण हावाहुरी र असिना पानीले ठूलो क्षति, एकको मृत्यु 

वीरगंज । बाराको सिम्रौनगढ इलाकामा गएराती आएको भीषण हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्याएको छ । 

प्राकृतिक प्रकोपमा परी एक जनाको मृत्यु भएको छ भने करोडौँ रुपैयाँ बराबरको कृषि बाली र तरकारी खेतीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

मृत्यु हुनेमा बारा सिम्रौनगढ नगरपालिका–बडा नम्बर १ खजानी टोल निवासी रामबिलास साह कलवारकी ५० वर्षीया श्रीमती मनतुरा देवी रहेकी छन् । स्थानीय लालबाबु कुशवाहाका अनुसार, राति असिना पानी, र हावाहुरी चलिरहेको समयमा ठूलो आवाजसहित चट्याङ पर्दा मनतुरा देवीलाई हृदयघात भएको र घटनास्थलमै उनको मृत्यु भएको हो ।

त्यसैगरी, हावाहुरी र असिनापानीले सिम्रौनगढ इलाकामा लगाइएको अन्नबाली र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ । सिम्रौनगढ इलाकाको खजानी, झवानी, नैकाटोला, अमृतगन्ज, जानकी नगर, बैरिया, हरिहरपुर, गङ्गानगर, सतुवाही, अमरपुर, कमलपुर, इटवाल, कनकपुर, देवापुर, टेटा, पर्सा र सिम्रौनगढ बजारलगायतका गाउँहरूमा लगाइएको मकै, काउली, टमाटर, बोडी, करेला, लौका, खिरा, भिन्डी र भन्टा लगायतका सबै बाली नष्ट भएका छन् ।

यस क्षेत्रमा सबैभन्दा बढी क्षति खजानीमा भएको छ, । खजानीमा हावाहुरीले दर्जनौँ कच्ची घरको छाना उडाएको छ भने अन्नबाली र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ । स्थानीय पीडितहरूका अनुसार, आँपको चिचिला, केरा खेती र फलफूल खेतीमा समेत ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button