तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय सञ्चालन गर्न पोखरा महानगरको निर्देशन

पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयलाई वैशाख १७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । नेपाल शिक्षक महासङ्घको आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको हो ।

महानगरपालिकाको शिक्षा महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्बन्धित सबै सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्दै नियमित पठनपाठन सञ्चालनमा सक्रिय भूमिका निभाउन अनुरोध गरिन्छ ।’

शिक्षक आन्दोलनले विद्यालयमा पढाइ अवरुद्ध हुँदा विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुन सक्ने भएकाले महानगरले पठनपाठनलाई नियमित बनाउने निर्णय लिएको जनाएको छ ।

नेपाल शिक्षक महासङ्घको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरूमा असर परेको छ । आन्दोलनका कारण विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ। आन्दोलनमा सहभागी शिक्षकहरू विद्यालयमा उपस्थित नहुँदा नियमित कक्षा सञ्चालन हुन सकेको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button