अमलेखगन्जमा बस दुर्घटना, १९ यात्रु घाइते
वीरगंज । बारा जिल्लाको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक पूर्व–पश्चिम राजमार्गको सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन्।
आज बिहान ३:३० बजे पोखराबाट रौतहततर्फ गइरहेको बस (ग १ ख ११५४) लाई काकडभिट्टाबाट पोखरा जाँदै गरेको अर्को बस (ग २ ख १६५५) ले ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करपछि ग २ ख १६५५ नम्बरको बस अनियन्त्रित भई पथलैया–हेटौंडा सडकखण्डतर्फ जाँदै गरेको कोइला बोकेको ट्रक (प्रदेश २–०३–००१ ख ५१८७) मा ठोक्किएको थियो। त्यसपछि बस ५ मिटर तल सडकबाट खस्दै दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका १९ यात्रुमध्ये केहीको उपचार हेटौंडास्थित सामुदायिक अस्पतालमा भइरहेको छ भने अन्यको अमलेखगन्जको अकल बहादुर कार्की अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूमा बस चालक कास्की रुपाकोट गाउँपालिका–७ का ४० वर्षीय रवि कुमार ताम्राकार, सहचालक बासुदेव अधिकारी (५०), अनिल कुमार बस्नेत (तनहुँ), राजेन्द्र सुनुवार (ईलाम), खर्क सिंह तुम्बाहाम्फे (पाँचथर), विलास दास (भारत, बिहार), रबिन्द्र माझि र भरत ईश्वर (सप्तरी), बुद माया यादव (पाँचथर) लगायत रहेका छन्।
त्यस्तै, पुष्पा वली (सल्यान), मनिषा राई (ईलाम), निशा लिम्बु (झापा), अनुराग खड्का (दोलखा), रेशम थापा र सागर क्षेत्री (भारत, सिलिगुडी), दल बहादुर राई, तेज बहादुर राई, संजीव राई (ईलाम) तथा टेक बहादुर राई (खोटाङ) पनि घाइते भएका छन्।
प्रहरीले ग १ ख ११५४ नम्बरको बस र त्यसका चालक चितवन राप्ती नगरपालिका–३ का ४७ वर्षीय तिलक बहादुर थापा मगरलाई नियन्त्रणमा लिएको जनाएको छ।
दुर्घटनापछि अबरुद्ध सडकखण्डलाई प्रहरीले एकतर्फी रुपमा सञ्चालनमा ल्याएको छ।
प्रतिक्रिया राख्नुहोस्