अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप सुरु
भोजपुर । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई ३–१ गोलले पराजित गर्दे भारतको जर्जियन फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

जर्जियन फुटबल क्लबका लागि जर्सी नम्बर १२ का वसन्त राई, जर्सी नम्बर ९ का नरजंग लेप्चा र जर्सी नम्बर १८ का सिद्धान्त क्षेत्रीले एक एक गोल गरेका थिए भने आयोजक भोजपुर जिल्ला फुटबल संघका लागि जर्सी नम्बर १० का सन्तोष तामाङले एक मात्र गोल गर्न सफल भए । प्रतियोगिताको म्यान आफ द म्याच जर्जियनका जर्सी नम्बर १२ का बसन्त राई बने ।
करिब ४९ लाखको लागतमा भोजपुर नगरपालिका–७ मा रहेको रङ्गशालामा भइरहेको प्रतियोगिताको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सांसद राजेन्द्र कुमार राई र भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले रेफ्रीलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको थियो ।
सोमबार सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र सलहेश फुटबल क्लब सिरहाबीच खेल हुने छ ।
२० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
गत वर्ष सञ्चालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौँ त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दे विजेता बनेको थियो ।
प्रतिक्रिया राख्नुहोस्