राष्ट्रिय सभा : पर्यटन विधेयक २०८१ पेश
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा पर्यटन विधेयक २०८१ पेश भएको छ ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासीयाले पर्यटन विधेयक २०८१ पेश गर्नुभयो ।
यस्तै आजको बैठकमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक टेबुल भएको छ ।
यस्तै बैठकले पूर्व संविधानसभा सदस्य एवं प्रतिनिधिसभा सभाका पूर्व सदस्य तीर्थराम डङ्गोल र प्रतिनिधि सभाका पूर्व सदस्य कमल कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नागरिकका समस्या सम्बोधन तथा सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक भएको बताउनुभयो ।
आजको बैठकमा १७ आँै अधिवेशनको अवधिमा भए गरेका काम कारबाही सभामा जानकारी गराउनुहुँदै अध्यक्ष दाहालले सङ्घीय निजामती सेवा विधेयक, २०८०, विद्यालय शिक्षा विधेयक २०८०, नेपाल प्रहरी विधेयक २०८१ लगायत विधेयक राष्ट्रिय सभामा दर्ता हुनासाथ प्राथमिकतामा राखेर प्रक्रियामा लगिने पनि जानकारी दिनुभयो ।
यसअघि आजको बैठकमा दलीय आधारमा धारणा राख्नुहुँदै सांसदहरुले शिक्षकहरूको आन्दोलनप्रति संवेदनशील भई जायज मागको सम्बोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरुले आगामी आर्थिक वर्षको बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाबमोजिम आउनुपर्ने उल्लेख गर्नुभयो ।
सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमार्फत जनताका पक्षमा काम गर्न सक्छौँ भन्ने देखाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक बैशाख १९ गते शुक्रबार दिनको १ः१५ मा बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्