शिक्षक आन्दोलनको असर: कञ्चनपुरका विद्यार्थीहरू घरधन्दा र गोठालोमै सीमित
कञ्चनपुर । सरकारसँग आफ्ना विभिन्न मागहरू पूरा गराउन देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएसँगै कञ्चनपुरका विद्यालयहरू समेत ठप्प भएका छन् । विद्यालय बन्द भएपछि गाउँघरका विद्यार्थीहरू पढाइबाट टाढिँदै घरधन्दा, गोठालो, घुमफिर र खेलकुदमा दिन बिताउन बाध्य भएका छन् । विद्यालय जान पाउनुपर्ने उमेरका बालबालिकाहरू खेतबारीमा काम गर्न, गाईवस्तु चराउन र साथीहरूसँग घुम्नुपर्ने अवस्थामा पुगेका छन् । अभिभावकहरू पनि आफ्ना सन्तानहरूको भविष्यबारे चिन्तित देखिन्छन् ।
बेलडाँडी गाउँपालिका वडा नम्बर १ की अभिभावक राजमती धामी भन्छिन्, ‘विद्यालय बन्द हुँदा बच्चाहरूको पढाइ बिग्रने भयो । सधैँ खेल्न र घरको काम गर्न थालेका छन् । हामीलाई त धेरै पीर लागिरहेको छ ।’ बेलडाँडी १ कै विद्यार्थी सरस्वती पाली कक्षा ८ को मौका परीक्षा दिन तयार छिन् । तर परीक्षा फाराम समेत भर्न नपाएकोमा उनी चिन्तित छिन् । बेलडाँडी गाउँपालिका वडा नम्बर २ का आठ कक्षाका छात्र सुशील साउद विद्यालय बन्द हुँदा साँझ बिहान खेल्नमै व्यस्त हुन्छन् ।
अभिभावकहरूले सरकार र शिक्षक दुवै पक्षलाई विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर समस्या समाधान गर्न आग्रह गरेका छन् । शिक्षकहरूको आन्दोलन कहिले अन्त्य हुन्छ र विद्यालयहरू कहिले खुल्ने भन्ने अन्योलबीच गाउँका बालबालिकाहरूको पढाइमा ठूलो असर पर्न थालेको छ ।
प्रतिक्रिया राख्नुहोस्