आर्थिक समृद्धि, विकास र सुशासनप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले देशमा आर्थिक समृद्धि, विकास र सुशासन कायम गर्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार के.सीले परम्परागत रुपमा वितरणमुखी बजेट आउने काम अब बन्द हुनुपर्ने भन्दै रोजगारीको सिर्जना, उत्पादन वृद्धि र निर्यात बढाउने खालको बजेट आउनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका सांसद पदम गिरीले शिक्षकहरूको माग पुरा गर्न सरकार मुलुकको अर्थतन्त्रले भ्याएसम्म लचिलो भएर काम गरिरहेको बताउनुभयो ।
उहाँले काठमाडौँको टोखामा भेटिएको २५ करोड नेपाली रुपैयाँ बराबरको रकमको विषयमा भइरहेको अनुसन्धानबारे संसदमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले शिक्षक महासङ्घको नेतृत्वमा २६ दिनदेखी आन्दोलन भइरहेको, चिकित्सक, स्थानीय तहका कर्मचारी, निजामती कर्मचारी, लघुवित्त पिडितलगायतहरु विभिन्न मागसहित आन्दोलनमा रहेको भन्दै समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिश झाले बजेट बनाउदै गर्दा कार्यकर्ता र बिचौलियालाई खुसी पार्नेभन्दा पनि मुलुकको समृद्धिका लागि रणनीति तयार गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले देशको अवस्था बदल्न व्यवस्थामा केही फेरबदल आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
नेकपा एकिकृत समाजवादी पार्टीका सांसद राजेन्द्र पाण्डेले शिक्षक, डाक्टर, सहकारी पीडित सडकमा रहेको अवस्थाले सरकारले सुशासन दिन नसकेको देखिएको जिकिर गर्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद रञ्जु झाले विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक समयमा ल्याउनुपर्ने बताउनुभयो ।
सांसदहरु लालविर चौधरी, प्रेम सुवाल, चित्रबहादुर केसी, प्रभु शाह, चन्दा चौधरी, नारायण प्रसाद आचार्य, मुक्ताकुमारी यादवलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्