कश्मीर हमलापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडाइ
बाँके।भारतको कश्मीरमा पर्यटकमाथि भएको आतङ्ककारी आक्रमणपछि नेपाल–भारत सीमा नाकामा भारतीय सुरक्षा निकायले कडाइ गरेको छ।
बाँकेको जमुनाहा नाकाबाट आवागमन गर्ने नेपाली तथा भारतीय नागरिकसँग सोधपुछ गरी परिचयपत्र जाँचपछि मात्रै आवतजावत गर्न दिइएको सशस्त्र सीमा बल (एसएसबी) रुपैडियाले जनाएको छ।
सवारी साधनहरूमा पनि निगरानी बढाइएको छ। तालिम प्राप्त कुकुरद्वारा चेकजाँचपछि मात्रै सवारी पार गराइँदै आएको एसएसबीका कमान्डेन्ट गंगासिंह उदावतले बताउनुभयो।
उहाँले नेपालगन्ज नाका संवेदनशील मानिएकाले चेकजाँच कडा पारिएको र प्रहरी तथा एसएसबीको टोलीले ग्रामीण क्षेत्रमा समेत गस्ती बढाएको जानकारी दिनुभयो।
रुपैडिया प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ददनसिंहले केन्द्रबाटै सीमा नाकामा कडाइ गर्न निर्देशन आएको र सोही अनुसार आवागमनमा निगरानी बढाइएको बताउनुभयो।
भारतको कश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणमा एक नेपाली नागरिकसहित २८ जना पर्यटकको ज्यान गएको थियो। त्यसपछि भारतले देशसँग जोडिएका सबै नाकामा उच्च सतर्कता र सुरक्षा कडाइ गरेको जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्