अतिक्रमित जमिन खाली गराएर अस्पताल,खेलमैदान र प्रशासनिक भवन बनाउँदै सरावल

नवलपरासी,पश्चिम्।नवलपरासीको सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गामा डोजर चलाएको छ । पटक पटक ताकेता गरेपनी अटेर गरिएपछि पालिकाले विभिन्न ठाउँका अतिक्रमित जग्गा खाली गराएको हो ।
व्यक्तिहरूले विद्यालय तथा अन्य सार्वजनिक जग्गा अतिक्रमण गरी विभिन्न भौतिक संरचना निर्माण गर्न थालेपछि गाउँपालिकाले रोक लगाएर अतिक्रमित जग्गा खाली गराएको हो।

अहिलेसम्म झन्डै आठ बिघा सार्वजनिक जग्गा खाली गराएर विभिन्न संरचना निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताउनु भयो। वडा नम्बर ३ मा प्रशासनिक भवन निर्माणका लागि १९ कट्ठा जमिन खाली गराइएको,वडा नम्बर ५ मा १५ शय्या अस्पताल निर्माणका लागि २ बिघा १२ कट्ठा त्यसैगरी वडा नम्बर ७ मा विद्यालयको नाममा रहेको जग्गा वडा कार्यालय निर्माणका लागि जोतभोग गरिरहेको अवस्थामा खाली गराइएको अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
यस्तै अतिक्रमित भएका अन्य स्थानहरू पनि खाली गराइएको उहाँले जानकारी दिनुभयो ।सार्वजनिक जग्गा अतिक्रमण भएका ठाउँहरूमा पालिका निर्मम भएर अघि बढ्ने अध्यक्ष चौधरीले बताउनु भयो ।”सार्वजनिक जग्गा संरक्षण गर्नु पालिकाको दायित्व हो,सार्वजनिक सम्पत्ति हानी नोक्सानी गर्नु हुँदैन भन्ने सन्देश पनि दिएका छौ,यसमा सबैले साथ दिन जरुरी छ”अध्यक्ष चौधरीले भन्नू भयो ।

अतिक्रमित जगा खाली गराई पालिकाले खेल मैदान निर्माणका लागि चरणबद्ध रुपमा २० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको छ।
कब्जा गरेका जमिनहरूलाई खाली गराएर विकास निर्माण र अन्य आवश्यकता अनुसारका काम अघि बढाइने र यो अभियान निरन्तर जारी रहने प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्