नेपालगन्जमा मुस्लिम इत्तेहादको महाधिवेशन तयारी तीव्र
बाँके।यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशनको तयारी गाउँस्तरमा सुरु गरिएको छ।
महाधिवेशनको प्रचारप्रसारसँगै मुस्लिम समुदायका मुद्दामा एमालेको भूमिका र सम्बोधनबारे छलफल भइरहेको छ। मुस्लिम अगुवाहरूले महाधिवेशनलाई सफल बनाउन पार्टीभन्दा माथि उठेर साथ दिने प्रतिबद्धता जनाएका छन्।
मुस्लिम विद्यार्थीका लागि छुट्टै विश्वविद्यालय स्थापनामा एमालेले पहल गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हलवाईले बताउनुभयो। उहाँका अनुसार, महाधिवेशन बाँकेको विकास निर्माण र पछाडि परेका वर्गका अधिकारका विषयमा प्रधानमन्त्री समक्ष आवाज उठाउने अवसर पनि हो।
केन्द्रीय सदस्य तथा मुस्लिम फाँट इन्चार्ज हलवाईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वैशाख १९ गते नेपालगन्ज आइपुग्ने र वैशाख २० गते महाधिवेशन उद्घाटन गर्ने जानकारी दिनुभयो। उहाँले प्रधानमन्त्रीलाई जिल्लाका मागहरू समेटिएको ज्ञापनपत्र बुझाइने र त्यसलाई महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गरिने विश्वास व्यक्त गर्नुभयो।
महाधिवेशनमा देशभरबाट करिब ६ सय प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खानले महाधिवेशनलाई बाँकेका विकास, शिक्षा, स्वास्थ्य र अल्पसंख्यक समुदायका अधिकारका विषयमा केन्द्रसम्म आवाज पुर्याउने अवसर भएको बताउनुभयो।
यस्तै, नेकपा एमाले बाँकेका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपतिले महाधिवेशन सफल पार्ने प्रतिबद्धता व्यक्त गर्दै एमाले नेतृत्वका विभिन्न तहमा मुस्लिम समुदायको विकासका लागि निरन्तर काम भइरहेको उल्लेख गर्नुभयो।







प्रतिक्रिया राख्नुहोस्