तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसदीय दलको बैठक : काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलको आज बसेको बैठकले चार बुँदे निष्कर्ष निकालेको छ । 

बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले संसदीय काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ कार्यसम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट सम्पूर्ण सदस्यलाई निर्देशन गर्ने निष्कर्ष निकालेको छ ।

मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव चनाखो रहँदै जनसरोकार र राष्ट्रिय महत्वका नीति, योजना र विषयलाई संसद्मार्फत सशक्त ढङ्गले उठान गर्ने बैठकले निष्कर्ष निकालेको पार्टीका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती विधेयकलगायत र अन्य  विचाराधीन विधेयकलाई गुणस्तरीय कानुन बनाउने गरी यथाशीघ्र निष्कर्षमा पुर्‍याउन एमाले संसदीय दल र सदस्यहरूले  प्रभावकारी पहलकदमी लिने निष्कर्ष निकालेको हो ।

मुख्य सचेतक बर्तौलाले भन्नुभयो, “संसद्मा हुन सक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावली विपरीत हुने क्रियाकलापको विपक्षमा सदैव उभिँदै संसद्लाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोका रूपमा स्थापित गर्दै अगाडि बढाउन जीवन्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button