बागलुङको कुडुले फेदीमा शालिग्राम महोत्सव सञ्चालन हुँदै
बागलुङ । बागलुङ नगरपालिका–४ कुंडुले फेदीस्थित शालिग्राम संग्रालयमा श्री रंगवैकटेश् मुक्तिनारायण मन्दिरको ब्रम्होत्सवको अवसर पारेर शालिग्राम महोत्सव हुने भएको छ ।

मन्दिरको ३८ औँ व्रम्होत्सवको अवसर पारेर यही बैशाख १७ गतेदेखि २१ गते सम्म शालिग्राम महोत्सव सञ्चालन गर्न लागिएको मन्दिरका अध्यक्ष तथा शालिग्राम सङ्ग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।
महोत्सव अन्तर्गत दैनिक पाठपारायण, रामायण प्रवचन, भजनकिर्तन, १ सय ८ कलश पुजन, शालिग्रामको महत्वबारे चर्चा परिचर्चा, यज्ञ हवन, विद्धान गुरुजनहरू बाट प्रवचन लगायतका कार्यक्रम रहेको स्वामी प्रपन्नाचार्यले बताउनुभयो । उहाँका अनुसार शालिग्राम शिला र शालिग्राम पाईने एकमात्र नदी कालिगण्डकीको महत्त्वबारे पनि चर्चा हुने छ ।
महोत्सवलाई सभ्य र भव्य बनाउनका लागि विभिन्न समिति र उपसमिति गठन गरी कामको जिम्मेवारी प्रदान गरिएको सङ्ग्रहालयका उपाध्यक्ष हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार यतिखेर सङ्ग्रहालय परिसर सरसफाई, प्रचारप्रसार लगायतका कार्य भइरहेको छ ।
बाघको मुखको आकृति भित्र सुरुङ निर्माण गरी संग्रहित गरिएका सवा लाख शालिग्रामको दर्शन तथा अवलोकनका लागि पछिल्लो समय दैनिक रुपमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको भिड लाग्ने गरेको स्थानीय कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गर्नुहुने आयोजकले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्