काँग्रेस सहमहामन्त्रीको चरित्र हत्याको विरोधमा धनुषामा प्रदर्शन
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँमा नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाउँदै कडा कारबाहीको माग गरेको छ ।

नेपाली कांग्रेसका मधेस प्रदेश सभाका प्रमुख सचेतक कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर–ढल्केबर सडक खण्ड आधा घण्टा अवरोध गरी लिङ्देनको पुत्ला जलाइएको हो । प्रमुख सचेतक झाले प्रतिनिधि सभामा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
लिङ्देनले शुक्रवारको प्रतिनिधि सभाको बैठकमा भाटभटेनी लुटपाटमा सत्तारुढ दल काँग्रेसकै सह–महामन्त्रीको छोरा पनि रहेको तर प्रहरीले छाडेको अभिव्यक्ति दिएको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो ।
राजावादीको तीनकुने प्रदर्शनको क्रममा प्रदर्शनकारीले भाटभटेनी लुटपाट गरेको थियो । यद्यपि लिङदेनले कांग्रेसका एक जना सहमहामन्त्रीका छोरा भने पनि कसैको नाम लिएका थिएनन् ।
कांग्रेस सह–महामन्त्री यादवका छोरा द्वय विकास र आकाश दुवै चिकित्सक हुनुहुन्छ र देश बाहिर । तर उहाँहरूको संलग्नता रहेको आरोप लगाएपछि धनुषा कांग्रेस आन्दोलित बनेको छ ।
प्रतिक्रिया राख्नुहोस्