तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप आइतबार सुरु हुँदै

भोजपुर । करिब ४९ लाखको लागतमा भोजपुरमा आइतबारबाट आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिता सुरु हुदैछ । प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाको प्रतिष्ठित गोल्डकप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शनिवार रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । 

प्रतियोगिता अन्तर्गतको पहिलो खेल जर्जियन फुटबल क्लब, भारत र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घबिच हुने छ ।

प्रतियोगितामा बाहिरी जर्जियन फुटबल क्लब, भारत, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटि मोरङ गरी आठ टिमले सहभागिता जनाउने छन् । 

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता भोजपुर नगरपालिका–७, कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने छ । 

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष सुवालले जानकारी दिनुभयो । 

गत वर्ष सञ्चालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौँ त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दे विजेता बनेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button