कांग्रेस नेता डङ्गोलको अन्त्येष्टि

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीर नेवारी परम्पराअनुसार आज टेकु दोभानस्थित चिन्तामणिघाटमा अन्त्येष्टि गरिएको छ ।
धर्मपत्नी तेज माया र भाइ बलराम डङ्गोलले पार्थिव शरीरमा दागबत्ती दिनुभयो । अन्त्येष्टिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, आफन्तजन र शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।
लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहनुभएका काठमाडौँ नगर पञ्चायतका पूर्व उपप्रमुख डङ्गोलको गएराति ७७ वर्षको उमेरमा सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा निधन भयो ।
नेपाली राजनीतिमा जुझारु नेताका परिचय बनाउनुभएका डङ्गोल विसं २०६२÷६३ को प्रतिगमनविरुद्धको काठमाडौँको आन्दोलन उहाँकै नेतृत्वमा भएको थियो । उहाँ विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।
अन्त्येष्टि अघि उहाँको पार्थिव शरीर सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो । त्यसअवसरमा कांग्रेसका महामन्त्री गगन थापा, पूर्व महामन्त्री त्रय कृष्णप्रसाद सिटौला, शशाङ्क कोइराला र उपप्रधानमन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायतले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
डङ्गोलका सहयात्री र शुभेच्छुकले उहाँ निर्भिक र सत्यको पक्षपाति भएको प्रतिक्रिया दिनुभएको छ । उहाँका सहयात्री तथा पूर्वमन्त्री भिमसेनदास प्रधानले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भए पनि दलका नेतामा असलभन्दा हाम्रा मान्छेको खोजी गर्ने मनस्थिति कायम गरेको अवस्थामा काठमाडौँ जिल्ला पूर्व सभापति डङ्गोलले समूह, नातावाद र कृपावादबाट माथि उठ्न शीर्ष नेताहरूलाई पटक–पटक सचेत गराउनुभएको स्मरण गराउनुभयो ।
राष्ट्रियसभाका सदस्य अञ्जान शाक्यले पूर्व राज्यमन्त्री डङ्गोलको निधनले नेपाली कांग्रेसलगायत देशले एउटा कुशाल, इमान्दार र निष्ठावान नेता गुमाएको प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्