तपाईँ सुन्दै हुनुहुन्छः

अछामको साँफेबगरमा भीषण आगलागी, १० पसल जलेर खरानी

अछाम। अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगर हाटबजारमा आज बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। बिहान करिब ३ः३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीले छिट्टै आसपासका पसलहरूमा फैलँदा ठूलो क्षति भएको हो।

स्थानीय व्यवसायीका अनुसार विद्युत सर्ट भएर होटलबाट सुरु भएको आगोले छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको छ। आगलागीपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिएको थियो। तर वारूणयन्त्र (दमकल)को अभावले आगो नियन्त्रणमा ढिलाइ भएको बताइएको छ। हालसम्म मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यसअघि चैत्र २६ गते जयगढ बजारमा पनि यस्तै आगलागी हुँदा ३५ वटा पसल जलेर ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो। एक महिना नपुग्दै जिल्लाभित्रै अर्को ठूलो आगलागीको घटना भएपछि अछामका बासिन्दा त्रसित भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button