तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङ दुर्घटना: ऊर्जा मन्त्रालयद्वारा चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा पाथिभरा मन्दिर जाँदै गरेको बोलेरो गाडी विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा चार जनाको ज्यान गएको दुःखद दुर्घटनापछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निर्देशनमा मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गरेको छ।

ऊर्जा मन्त्रालयले उक्त समितिको संयोजकमा नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्मालाई नियुक्त गरेको छ। समितिमा मन्त्रालयका दुई जना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एक जना प्रतिनिधि सदस्यको रुपमा रहने छन्।

वैशाख ८ गते फुङ्लिङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो ना.१ज. ३०११० गाडी सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा चार जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

घटनापछि गम्भीर चासो व्यक्त गर्दै मन्त्री खड्काले तत्काल यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको थियो । समितिलाई दुर्घटना कसरी ?, किन ?, र के कारणले भयो ? भन्ने विषयमा विस्तृत विवरण सङ्कलन गरी प्रतिवेदन तयार पार्नका साथै यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाव स्वरूप पेश गर्न निर्देशन दिइएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार छानबिन समिति हालसम्म सम्बन्धित पक्षहरूसँग सम्पर्क, अध्ययन तथा स्थलगत निरीक्षणमार्फत काम अघि बढाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button