तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा भूकम्प गएको १० वर्ष पूरा, पूर्वाधार निर्माणबाट बारपाकको स्वरूप परिवर्तन

गोरखा । २०७२ सालमा विनाशकारी भूकम्प गएको १० वर्ष पुरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । 

भूकम्पको १० वर्षपछि बारपाक गाउँले आफू स्वरूप परिवर्तन गरेको छ । भूकम्प अघि भएका ढुङ्गाका घरहरू नयाँ बन्ने क्रममा पूर्ण रुपमा कङ्क्रिट बनेका छन् ।

भूकम्पबाट जिल्लाका ६० हजार भन्दा बढी घर, अन्य संरचना, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च, विद्यालय, स्वास्थ्य चौकी, सरकारी तथा गैरसरकारी भवन भत्किए । भूकम्पमा जिल्लाका ४७२ जनाले ज्यान गुमाए । सयौँ मानिस घाइते तथा अङ्गभङ्ग भए । अर्बौँको क्षति भयो । गएको १० वर्ष बित्दासम्म व्यक्तिका घर, सरकारी तथा सार्वजनिक भवनहरूको पुर्ननिर्माण करिब सकिएको छ । गोरखामा भूकम्पले जीर्ण बनाएको कारागार पनि पुनर्निर्माण हुन सकेको छैन ।

भूकम्प गएको १० वर्ष भएसँगै मानिसहरूले बिस्तारै भूकम्पलाई बिर्सँदै गएका छन् । त्यसपछि बनेका अधिकांश घर एवं संरचनाहरूमा भूकम्पीय मापदण्ड कायम गरिएको छ । 

भूकम्प स्मृति दिवसको अवसरमा आज बारपाकमा भूकम्प स्मृति दिवस सम्पन्न भएको छ । कार्यक्रमलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो । 

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा फोटो प्रदर्शनी, विभिन्न साँस्कृतिक कार्यक्रमहरू गरिएको थियो । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  भूकम्पपछि आफूले सरकारलाई उद्धार र राहत वितरणका लागि पूर्ण रुपमा सहयोग गरेको र त्यसपछि चार दलीय गठबन्धन मिलेर संविधान समेत निर्माण गरि अहिलेको अवस्थामा आएको बताउनुभयो । 

आफू गोरखा जिल्लाबाट निर्वाचित भएपछि यस क्षेत्रको सडक, खानेपानी, शिक्षा, स्वास्थ्यको विकासका लागि सक्दो सहयोग गरेको र आगामी दिनमा पनि गर्ने बताउनुभयो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले पूर्वाधारका साथै जीविकोपार्जनका क्षेत्रमा समेत ध्यान दिनुपर्ने भएकाले गाउँबाट बसाइँ सर्ने वातावरण रोक्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार लाग्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button