मधेश प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

सप्तरी । सप्तरीको राजविराजमा सञ्चालित मधेश प्रिमियर लिग क्रिकेट तेस्रो संस्करण प्रतियोगिताको उपाधि मिथिला वारिर्यसले हात पारेको छ ।
बिहीबार स्थानीय पविमाबि खेलमैदानमा मिथिला वारियर्स र बलानबिहुलबीच भएको फाइनल खेलमा बलानबिहुललाई ५ विकेटले पराजित गर्दै वारियर्सले उपाधि माथि कब्जा जमाएको हो।
मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा टस जितेर बलान बिहुलले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ५३ रनको योगफल खडा गरेको थियो। जसमा राष्ट्रिय खेलाडी विवेक यादवले ४ छक्का र २ चौकाको मद्दतले सर्वाधिक ४५ रन, लोकेश बमले ४१ रन, सुजन थपलियाले २८ रन, फिर्दोष अन्सारी १५ रन बनाए।
बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्री ३ विकेट तथा शेर मल्ल र कुशल भुर्तेलले २÷२ विकेट र नन्दन यादवले १ विकेट हात पारे। जवाफमा १ सय ५४ रनको लक्ष्य पच्छाएका मिथिला वारियर्सले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर उपाधिमाथि कब्जा जमायो । जसमा कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ५८ रन बनाएपछि टिम जित नजिक पुग्यो यसैगरी अर्का ब्याटर रबि साह ४४ रन बसिर अहमद २५ रन बनाए ।
बलिङतर्फ विवेक यादव र अरनिको यादवले २÷२ विकेट लिए। फाइनल प्लेयर अफ दि म्याच कुशल भुर्तेल घोषित भए ।
प्रतियोगिताको प्लेयर अफ दि सिरिज विशाल पटेल(जनकपुर सनराईज) बेस्ट ब्याटर आशिष शेख(जनकपुर सनराईज)बेस्ट बलर शेर मल्ल (मिथिला वारियर्स) भए ।
सो अवसरमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह, मिथिला प्रिमियर लिगका अध्यक्ष ई सञ्जीव नारायण यादव, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य आयुष श्रेष्ठलगायतले शिल्ड, कप, प्रमाणपत्र तथा विजेतालाई ९ लाख १ हजार उपवजेतालाई ४ लाख १ हजार पुरस्कार हस्तान्तरण गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्