मुलुकलाई गतिशिल र समृद्ध बनाउन युवाहरूको साथ महत्वपूर्ण : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई गतिशिल र समृद्ध बनाउन युवाहरूको साथ महत्वपूर्ण हुने बताउनुभएको छ ।
लोकतन्त्र दिवसको अवसरमा आज नेकपा एमालेले काठमाडाँैको भृकुटीमण्डपस्थित आयोजना गरेको युवा उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले समाजमा सकारात्मक आशा जागृत गर्दै राष्ट्र निर्माणको जिम्मेवारी लिन तत्पर रहेको सन्देश युवाहरूको उत्सवले दिएको बताउनुभयो ।
महासचिव पोखरेलले समाजलाई अस्थिरतातर्फ लैजाने, चौतर्फी घेराबन्दी आक्रमण गर्ने तत्त्वलाई परास्त गर्दै युवाहरूले मुलुकको विकास र परिवर्तनको अभियानमा जोडिनु आवश्यक रहेको औँल्याउनुभयो ।
यस्तै, नेपाल युवा शक्तिको राष्ट्र भएको भन्नुहुँदै महासचिव पोखरेलले पलायन भएका युवाहरू स्वदेशमै फर्किएर समृद्ध राष्ट्र निर्माणमा जुट्न पनि आह्वान गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाली युवा देशप्रति इमान्दार, सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत हुनुपर्ने बताउनुभयो ।
उपप्रमुख डङ्गोलले युवाले सही र गलत छुट्याउनु युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने उल्लेख गर्दै नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको बताउनुभयो ।
उपप्रमुख डङ्गोलले देशप्रति सधैँ इमान्दार भएर काम गर्न युवाहरू तत्पर हुनुपर्ने भन्दै क्षण भरका लागि स्टन्ट गरेर मात्र देश बन्न नसक्ने टिप्पणी गर्नुभयो ।

उपप्रमुख डङ्गोलले युवाहरूले योजना अनुरूप काम गर्नुपर्ने, समस्याको समाधान दिन सक्नुपर्ने पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा विभिन्न युवा प्रतिनिधीहरुले आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्