तपाईँ सुन्दै हुनुहुन्छः

गुन्द्रीमै बसेर करोडौंको सहकारी सञ्चालन : महिलाहरूलाई आत्मनिर्भर बनाउँदै

बाँके। गुन्द्रीमा बसेर बैठक गर्ने महिलाहरू अहिले करोडौंको लगानीसहित सहकारी संस्था सञ्चालन गरिरहेका छन्। बाँकेको बैजनाथ गाउँपालिका–५ मा सञ्चालित श्री दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले ७६० जना महिलालाई समेट्दै कृषि, पशुपालन र आर्थिक उद्यममा उल्लेखनीय सफलता हासिल गरिरहेको छ।

सहकारीकी अध्यक्ष लक्ष्मी कुमारी ओलीका अनुसार संस्था मार्फत हालसम्म ८ सय २८ वटा खसी बिक्री वितरण भइसकेका छन्। त्यस्तै, रासायनिक मलको आपूर्तिका लागि २७,२५० केजी डिएपी र ५०० केजी पोटास उपलब्ध गराइएको छ। किसानहरूलाई तरकारी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले निशुल्क बीउ–बिजन पनि वितरण गर्दै आएको अध्यक्ष ओलीले बताउनुभयाे।

सहकारीले ऊर्जा दक्षताका लागि २५ वटा इन्डक्शन चुलो वितरण गरेको छ भने महिला सदस्यहरूलाई समूह जमानतमा २ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइरहेको छ। हालसम्म सहकारीको कुल लगानी १ करोड ५० लाख रुपैयाँ नाघिसकेको छ।

केवल ३ जना कर्मचारीको बलमा सञ्चालित यो संस्था महिलाहरूको मेहनत, एकता र लगनशीलताको उत्कृष्ट उदाहरण बनेको छ। ग्रामीण महिलाहरूले देखाएको यस्तो सफल प्रयास अरूका लागि प्रेरणाको स्रोतसमेत बनिरहेको छ।

सरोकारवाला निकाय र सहकारीसँग सम्बन्धित संघ–संस्थाहरूले यस्ता मेहनती र उद्यमी महिलाहरूको सहकारीलाई आवश्यक सहयोग पुर्‍याए अझ उत्कृष्ट परिणाम हासिल गर्न सकिने देखिएको छ। बैजनाथ गाउँपालिकाले पनि ‘पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत यस्ता सच्चा किसान र उद्यमशील महिलाको सहयोग, अनुगमन र प्रोत्साहनमार्फत आत्मनिर्भरता बढाउन सकिने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button