तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर । यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना सुरु गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्यजन्तु सप्ताहको अवसरमा यही वैशाख ३ गतेदेखि बाह्रसिङ्गा गणना सुरु गरेको हो । निकुञ्ज कार्यालयले चार समूहमा गणना गरिरहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । 

“दुई वटा हात्ती प्रयोग गरेर चार समूहमा गणना भइरहेको छ”, उहाँले भन्नुभयो, “‘हेड काउन्ट’ र ड्रोनबाट गणना भइरहेको छ ।” उहाँका अनुसार बाह्रसिङ्गा समूहमा मिलेर सीमित ठाउँमा बस्ने भएकाले सोही अनुरुप निकुञ्जको टोलीले गणना गरिरहेको छ । 

वन्यजन्तु सप्ताहको अवसर पारेर निकुञ्जमा बाह्रसिङ्गाको गणना हुँदै आएको छ ।  निकुञ्जको ५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको घाँसे मैदानमा बाह्रसिङ्गा सबैभन्दा ठूलो झुण्डमा देख्न सकिन्छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार गत वर्षको गणनामा निकुञ्जमा दुई हजार ३२३ बाह्रसिङ्गा थिए । 

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुँडीफोर जस्ता पक्षी छन् । स्तनधारी वन्यजन्तुमा ५३ बढी प्रजाति छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button