एपीएफ क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा
नेपालगन्ज । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबल सँगको टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब फाइनलमा प्रवेश गरेको हो ।

एपीएफको तर्फबाट दोस्रो हाफमा अनिता केसी, निशा ठोकर र सबिता राना मगरले १–१ गोल गरे । खेलमा म्यान अफ द म्याच एपीएफकी अनिता केसी भइन् । एपीएफले अब उपाधिका लागि शुक्रबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले मङ्गलवार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गरेर फाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता छ । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता छ ।
बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्