करको दरभन्दा दायरा बढाउनु पर्नेमा सांसदहरूको जोड

काठमाडौँ । सांंसदहरुले करको दरभन्दा करको दायरा बढाउनु पर्नेमा जोड दिनुभएको छ ।
अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिमा रहनुभएका सांसदहरुले आगामी बजेटमा कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि लगायतका विशेष संभावित क्षेत्रहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
आगामी बजेट उत्पादन तथा रोजगारी केन्द्रित हुनुपर्ने, शेयर बजारलाई खुकुलो बनाउनेगरी आउनुपर्ने, लगानीकर्ता र उद्यमीमैत्री वातावरणको निर्माण गर्नेगरी बजेट ल्याइनुपर्ने सांसदहरुले सुझाव दिनुभयो ।
सांसदहरुले एकसय ६५ वटै निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर सांसदहरूको सिफारिसमा योजना तथा कार्यक्रमहरू आगामी बजेटमा समावेश गर्नु जरुरी रहेको बताउनुभयो ।
यस्तै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान नबन्दा त्यसबाट राम्रो प्रतिफलको आशामा पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीहरू निराश भएको उल्लेख गर्दै सांसदहरुले ती दुवै विमानस्थललाई चलायमान बनाउन विशेष पहलकदमी गर्नुपर्नेमा पनि बैठकमा जोड दिनुभयो ।
सांसदहरूको धारणापछि अर्थ समितिको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आवश्यकता र प्राथमिकताका आधारमा नै बजेट ल्याउने तयारीमा लागेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले सांसदहरूको माग सकारात्मक रहेको र सबैको छलफल र परामर्शबाटै बजेटलाई मूर्तरूप दिने भएकाले आवश्यक योजनाहरू बजेटमा समावेश हुने विश्वास पनि दिलाउनुभयो ।
समितिको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले योजना आयोगले विशेष र समपूरक अनुदानका लागि परेका आयोजनाहरूको विश्लेषण गरी त्यसलाई अन्तिम रूप दिने काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्