क्यान्सर रोगको प्रभाव बढ्नु चिन्ताको विषय: मुख्यमन्त्री आचार्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताउनुभएको छ ।
बुधबार रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–६ वेथरीस्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरूको उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
पछिल्लो समय बिरामीको सङ्ख्या बढ्दै गएका कारण यो विषय थप चिन्ताजनक बन्दै गएको उहाँको भनाइ छ । बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
प्रदेश स्थापना भएदेखि नै मैले क्यान्सर रोगका बिरामीलाई सहयोगको विषयमा निरन्तर संसदमा छलफल गरेँ । संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलको पालादेखि नै उपचार सहयोग कार्यक्रम सुरु गर्न सफल भयौंझउहाँले भन्नुभयो,म पनि लामो समय क्यान्सरसँग जुध्दै आएको व्यक्ति हुँ । अहिले क्यान्सरलाई जितेर तपाईँहरूको माझमा छु । रोगले च्यापेको बेलामा के के भोग्नुपर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । हामी बिरामीको पक्षमा काम गर्छौं र गरिरहेका छौँ ।झ
उहाँले सरकारको एकल प्रयासले मात्र सबैको पहुँचमा उपचार सेवा पुर्याउन कठिन हुने भएकाले निजी क्षेत्रबाट भइरहेका प्रयासहरूलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
क्यान्सर रोगको उपचार तथा सेवा प्रवाह गर्ने लक्ष्यका साथ बेथरीमा अस्पताल निर्माण थालिएको हो । २ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो अस्पताल १ सय शय्याको हुने सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलका संस्थापक अर्जुन पौडेलले बताउनुभयो । १ अरब ५० करोड लागतमा निर्माण कार्य अघि बढेको क्यान्सर अस्पताल करिब डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पतालका संस्थापक पौडेलले जानकारी दिनुभयो ।
विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर भर्साइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्