राष्ट्रिय युवा महिला भेला आज, प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुँदै
काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघको केन्द्रीय युवा कमिटीले आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राष्ट्रिय युवा महिला भेला आयोजना गर्दैछ। भेला बिहान १० बजे सुरु हुनेछ, जसको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ।
केन्द्रीय युवा कमिटी अध्यक्ष बिन्दु अधिकारीका अनुसार, भेलामा युवा महिला नेतृत्व, सशक्तीकरण, उत्पादन, उद्यमशीलता, रोजगारी, सामाजिक रूपान्तरण, जलवायु परिवर्तन, आप्रवासन, प्रविधिको प्रभाव लगायत विषयमा छलफल हुनेछ।
भेलामा सात प्रदेश र ७७ वटै जिल्लाबाट ४० वर्षमुनिका करिब ५०० जना युवा महिलाको सहभागिता रहनेछ। महिला नेतृहरूले यस भेलालाई युवा महिलाको आवाज राज्य र नीतिमा पुर्याउने अभियानको सुरुआत भन्नुभएको छ।
युवा सहभागिता बढाउन अनेमसङ्घले केन्द्रीय कमिटीमा ३० प्रतिशत स्थान युवा महिलाका लागि सुरक्षित गर्ने नीति पनि पारित गरेको छ।
भेला पश्चात् देशभर प्रदेशदेखि पालिका तहसम्म युवा कमिटी गठन गर्ने योजना रहेको छ।
प्रतिक्रिया राख्नुहोस्