डोटी मिनिट्रक दुर्घटना: मृतकको पहिचान खुल्यो
डोटी। डोटीको जोरायल गाउँपालिका–१ स्थित गोल्डेन नजिक भीमदत्त राजमार्गमा मंगलबार बिहान भएको मिनिट्रक दुर्घटनामा मृत्यु भएका थप दुई जनाको पहिचान खुलेको छ। यसअघि चालकको पहिचान खुलेको थियो।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा बझाङको बुङ्गल नगरपालिका–२, मलेना निवासी अन्दाजी ३३ वर्षीय चालक अर्जुन धामी, सोही ठाउँका अन्दाजी ४२/४३ वर्षीय उज्जल जाग्री र अन्दाजी ४०/४१ वर्षीय जगत धामी रहेका छन्। प्रहरीका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको मिनिट्रक (सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८) अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। ट्रकले खाद्यान्न तथा अन्य खुद्रा सामग्री बोकेको थियो।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्